#प्रश्नः लोक सेवा आयोगको दोस्रो रणनीतिक योजनाले तय गरेका उद्देश्य र रणनीतिहरू उल्लेख गर्नुहोस्।
लोक सेवा आयोगले बदलिँदो परिवेश अनुसार आफ्नो संवैधानिक जिम्मेवारीलाई थप प्रभावकारी ढङ्गले सम्पादन गर्न रणनीतिक योजनाहरू तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ। यसमार्फत आयोगले दीर्घकालीन दृष्टिकोण तय गर्ने, मूल्यमान्यता घोषणा गर्ने, रणनीतिक उद्देश्य एवं रणनीति र कार्यनीति तय गर्ने तथा नतिजा खाका तयार गरी आफ्नो उपलब्धि मापन, अनुगमन र मूल्याङ्कन गर्नेलगायतका कार्य गरी आफ्नो कार्यसम्पादनमा सुधार गर्दै आएको छ। यसै क्रममा लोक सेवा आयोगले दोस्रो रणनीतिक योजना २०७९/८०–२०८३/८४ तयार गरी कार्यान्वयनमा ल्याएको छ।
क) दोस्रो रणनीतिक योजनाका उद्देश्यहरू:
- उपयुक्त उम्मेदवार छनोट गर्दा योग्यता, स्वच्छता र निष्पक्षता प्रवर्धन गर्नु,
- उपयुक्त उम्मेदवार छनोट गर्न समसामयिक वैज्ञानिक परीक्षण विधि अवलम्बन गर्नु,
- उजुरी सुनुवाइलाई अनुमानयोग्य बनाउनु,
- आयोगको संस्थागत क्षमता सुदृढीकरण तथा कार्यक्षेत्रमुखी प्रवर्धनात्मक कार्य विस्तार गर्नु ।
ख) दोस्रो रणनीतिक योजनाका रणनीतिहरू:
- योग्य उम्मेदवार छनोटसम्बन्धी विभिन्न चरणका क्रियाकलापलाई थप व्यवस्थित र विश्वसनीय बनाउने,
- सार्वजनिक सेवामा योग्य जनशक्ति आकर्षण गर्ने वातावरण सिर्जना गर्ने,
- विषय विज्ञ वा दक्षहरूको सेवालाई प्रभावकारी बनाउने,
- सङ्घीय निजामती सेवा तथा सङ्गठित संस्थाका सेवाका सर्तसम्बन्धी कानुन र सुरक्षा निकाय तथा अन्य सङ्घीय सरकारी सेवाका पदमा बढुवा गर्दा अपनाउनुपर्ने सिद्धान्तका विषयमा योग्यता प्रणाली सुनिश्चित हुने गरी परामर्श प्रदान गर्ने,
- परीक्षण विधि र प्रक्रियामा समसामयिक सुधार गर्ने,
- व्यवस्थापकीय पदमा नेतृत्व क्षमतासमेतका आधारमा उम्मेदवार छनोट गर्न वैज्ञानिक परीक्षण विधिको विस्तार गर्ने,
- सङ्घीय निजामती सेवामा हुने बढुवा सम्बन्धमा उजुरी सुन्ने र विभागीय सजायका विषयमा परामर्श दिने कार्यलाई बढी व्यवस्थित र प्रभावकारी बनाउने,
- आयोगको संस्थागत क्षमता सुदृढीकरण गरिने,
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग कार्यगत सम्बन्ध र आपसी सहयोगका क्षेत्रको पहिचान गरी विस्तार गर्ने ।
अन्त्यमा लोक आयोगले तयार गरेको पाँचबर्से रणनीतिक योजना कार्यान्वयन गरी नतिजा हासिल गर्न आयोगले आफ्नो स्रोतसाधन र संरचना परिचालन गर्नुका साथै नेपाल सरकारको पनि उत्तिकै साथ र सहयोगको आवश्यकता पर्छ ।
0 Comments