लोकसेवा अनुभव : आफ्नो परीक्षा आफैँ लिन्थेँ

मैले सुर्खेतको विद्यापुर गाविसको सामुदायिक विद्यालयबाट एसएलसी दिएँ । स्कुल तहमा म सधैँ प्रथम हुन्थेँ । एसएलसीमा जिल्लाको उत्कृष्ट १० जनाभित्र परेँ । सार्वजनिक प्रशासनमा स्नाकोत्तर गरेँ । ०६७ सालमा मैले लोकसेवामा पहिलोपटक शाखा अधिकृतका लागि परीक्षा दिने मनस्थिति बनाएँ । त्यतिवेला मैले अध्यापन पेसा अँगालेको थिएँ । मैले लोकसेवा तयारी थालेँ ।


टीकाराम ढकाल
उपसचिव

स्कुलमा पढाउने हुँदा लोकसेवाका लागि धेरै समय दिन सकिनँ । करिब तीन महिनाको तयारीमा पहिलो प्रयासमा अधिकृत हुन सफल भएँ । मेरो ब्याचमा एक नम्बरमा नाम निस्किएको थियो । अफिसरमा सात वर्ष काम गरेपछि गत वर्ष खुला प्रतिस्पर्धाबाट उपसचिव पास गरेँ । उपसचिवका लागिचाहिँ करिब ४ महिना राम्रै तयारी गरेको हुँ । अहिलेसम्म मैले लोकसेवाको दुईवटा परीक्षा दिएँ ।
मेरो लोकसेवा तयारी शैली
लोकसेवा तयारी गर्दा मैले घोक्ने काम गर्दै गरिनँ । धेरै विद्याथी सूत्र बनाएर बुँदा, तथ्यांक कण्ठस्त नै पार्छन् । किताब कण्ठ पारेर लोकसेवामा उत्तीर्ण हुन निकै गाह्रो छ । सबैभन्दा पहिला जुन पदका लागि परीक्षा दिने तयारी गर्थें, त्यो पदका लागि लोकसेवाले सार्वजनिक गरेको पाठ्यक्रम अध्ययन गर्थें, बुझ्थँे । पाठ्यक्रम बुझेपछि बल्ल त्यसका आधारमा सन्दर्भ सामग्री संकलन गर्न थाल्थेँ । एउटै विषयवस्तुसँग सम्बन्धित दुई वा त्योभन्दा बढी सन्दर्भ सामग्री संकलन गर्थें ।
सन्दर्भ सामग्रीको संकलनपछि हरेक पाठ्यक्रमअनुसार विषयवस्तु अध्ययन गर्दै नोट बनाउँथेँ । सन्दर्भ सामग्री एकपटक पढ्दा नोट बनाउने र त्यसपछि नोट मात्र पढ्थेँ । यसैगरी पाठ्यक्रमसँग सम्बन्धित विषयमा विज्ञको टेलिभिजन अन्तर्वार्ता, साथीहरूसँगको कुराकानी, पत्रपत्रिकाका लेखञ्रचनालाई पनि नोट गर्थें । त्यस्ता नोट पढ्दै सँगै अर्को संक्षिप्त नोट बनाउँथे । यसरी विषयवस्तु गहिरिएर पढ्ने र मुख्य कुराको नोट गर्दै जान्थेँ । त्यही नोट पढेर तयारी गर्थें ।
घरमै लोकसेवा परीक्षा
किताब पढ्दै नोट बनाउने र नोटलाई पनि फेरि पढ्दै अर्को संक्षिप्त नोट बनाउँदा परीक्षाको तयारी पनि धेरै नै भइसकेको हुन्थ्यो । म लोकसेवाका विगतका प्रश्नपत्र र नमूना प्रश्नपत्रमाथि तीन घन्टाको समय अनुशासन पालना गरेर हल गर्ने गर्थें । घरमै लोकसेवाको परीक्षा दिँदा परीक्षा हलमै भएको महसुस गरी अनुशासित भएर लेख्ने गर्थें । हरेक प्रश्न हल गर्दा समयमा ध्यान दिन्थेँ । तीन घन्टाभित्र हल गर्नुपर्ने कुनै पनि प्रश्न नछोडी लेख्थे । जति लेखिन्थ्यो, नोट र अन्य सन्दर्भ सामग्रीको आधारमा आफैँ जाँच्थेँ र अंक दिन्थेँ । त्यसो गर्दा हरेकपटक अघिल्लोपटकको अभ्यासमा देखिएको कमजोरी सच्याउँथे । यस्तो अभ्यासले मलाई समयको अनुशासनभित्र बसेर प्रश्नको हल गर्न सहयोग ग¥यो । परीक्षा हलमा छिर्दा कुनै समस्या भएन ।
लोकसेवा तयारी कक्षा
मैले एकपटक अफिसरका लागि र दोस्रोपटक उपसचिवका लागि लोकसेवा परीक्षा दिएँ । दुवैमा पहिलो प्रयासमै सफल भएँ । अफिसरको परीक्षामा त्यो ब्याचको एक नम्बरमा नाम निकालेको हुँ । उपसचिवमा भने अघिल्लो वर्ष खुल्ला प्रतिस्पर्धामा पास भएँ । मैले दुवै परीक्षा दिँदा लोकसेवा तयारी कक्षा लिएको छैन ।
सामान्य ज्ञानको तयारी गर्दा
म स्कुल समयदेखि नै हाजिरीजवाफ प्रतियोगितामा भाग लिइरहन्थेँ । त्यसकारण मसँग सामान्य ज्ञानसम्बन्धी आइडिया थियो । अन्य समयमा पढेका तथ्यांक पनि स्मरण गर्थें । त्यसो हुँदा थोरै मिहिनेतबाटै सामान्य ज्ञानको तयारी पूरा गरेँ । तथ्यांकलाई एक–अर्को विषय र सन्दर्भसँग तुलनात्मक रूपमा अध्ययन गर्दा सजिलो हुन्थ्यो ।
परीक्षा हलमा प्रवेश गरेपछि
धेरै विद्यार्थी राम्रो तयारी गरेर पनि परीक्षा हलभित्र गर्ने कमजोरीले सफल हुन सक्दैनन् । मभन्दा धेरै राम्रो ज्ञान भएका साथी पनि तीन घन्टाको समय व्यवस्थापन गर्न नसक्दा लोकसेवामा सफल हुन सकिरहेका छैनन् । उहाँहरूसँग धेरै ज्ञान छ, अनुभव छ, तर पास हुन सकिरहनुभएको छैन । कुनै प्रश्नमा आवश्यकभन्दा धेरै लेख्ने र समय कम हुँदै गएपछि आवश्यक कुरा पनि लेख्न नभ्याउने धेरै विद्यार्थीको समस्या हो ।
घरमै नमुना परीक्षा दिने गरेकाले मलाईचाहिँ समस्या भएन । पहिलोपटक लोकसेवा परीक्षा हलमा प्रवेश गर्दा पनि डर र तनाव भएन । तयारी गर्दा नै लोकसेवाकै आकारको कपी किनेर तीन घन्टाको समयभित्र कैयौँपटक नमुनाप्रश्न हल गरेको थिएँ ।
त्यसकारण समय कसरी व्यवस्थापन गर्ने र कसरी लेख्ने भन्ने कुरामा अप्ठ्यारो भएन । कुन प्रश्नलाई कति मिनेटमा सक्नुपर्छ भन्ने पनि ज्ञान हुन्थ्यो ।

Post a Comment

0 Comments