योजनाबद्ध विकासको समीक्षा

नेपालमा ६ दशक लामो योजनाबद्ध विकासको अवधिमा नौ वटा पञ्चवर्षीय र पाँच वटा त्रिवर्षीय योजना कार्यान्वयन भएका छन्‌ । यो बीचमा कुनै क्षेत्रमा उल्लेख्य विकास भएको तथा कुनै क्षेत्रमा मिश्रित अवस्था देखिएको तथा कुनै क्षेत्रमा अपेक्षाकृत विकास हुन नसकेको देखिन्छ । बुदागत रुपमा यसरी प्रस्तुत गर्न सकिन्छ ।

यस अवधिमा राजनीतिक क्षेत्रमा युगान्तकारी परिवर्तन भए तापनि आर्थिक, सामाजिक तथा आधुनिक यातायात तथा पूर्वाधार विकासको क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन ।

विगतको तुलनामा नेपाली जनतामा सचेतनामा अभिवृद्धि भएको, समाज आधुनिकतामा प्रवेश गरेको; जातीय, लैङ्गिक र वर्गीय विभेद, वहिष्करण र असमानतामा सुधारोन्मुख रहेका छन्‌।

यस अवधिमा शिक्षा, स्वास्थ्य, खानेपानी र सामाजिक सुरक्षा लगायत क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन्‌ । पूर्वाधार क्षेत्र अन्तर्गत सडक यातायात, सञ्चार तथा सूचना प्रविधि र शहरी पूर्वाधारमा उल्लेख्य विकास भएका छन्‌ । जलविद्युत, हवाई यातायात लगायतका अन्य पूर्वाधार निर्माणमा थप प्रयास गर्नुपर्नेछ ।

जनताका बढ्दो अपेक्षाको सम्बोधन गर्न र समृद्ध तथा समुन्नत राष्ट्रको रूपमा विकास गर्न अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना तर्जुमा गरी नतिजामूलक कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको छ ।

निरपेक्ष तथा बहुआयामिक गरिबीमा उल्लेख्य कमी आएको भए तापनि अझै पनि जनसङ्ख्याको ठूलो हिस्सा गरिबीको रेखामुनि रहेको छ ।

स्वदेशमा रोजगारीको अभावले युवा श्रमशक्ति रोजगारीका लागि विदेशिने क्रम यथावत रहेको छ ।

अर्थतन्त्रमा औद्यौगिक क्षेत्रको योगदान घटेको छ र व्यापार घाटा उच्च रहेको छ।

विप्रेषणले अर्थतन्त्रको आकार वृद्धि र विदेशी मुद्राको पर्याप्त सञ्चितिमा योगदान पुर्‍याएको छ ।

सामाजिक सुरक्षा, समावेशीकरण, वातावरण संरक्षण लगायतका आर्थिक-सामाजिक विकासका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन्‌।

आर्थिक वृद्धि,उत्पादन र उत्पादकत्व, औद्योगीकरण, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य, स्वच्छ र प्रदुषणमुक्त वातावरण र सुशासन लगायतका क्षेत्रमा योजनाले लिएका लक्ष्य अपेक्षित रूपमा हासिल हुन सकेका छैनन् ।



Post a Comment

0 Comments