कसरी गर्ने लोक सेवा तयारी ?

कसरी गर्ने लोक सेवा तयारी ? 
नेपालको प्रशासनिक क्षेत्र, सरकारी सेवामा प्रवेश गर्न चाहने सबैका लागि आकर्षणको केन्द्र बनेको छ, लोक सेवा आयोग । लोक सेवा आयोगको आ.व. २०७३–७४ को वार्षिक प्रतिवेदनका अनुसार कुल १०,३६८ पदका लागि दरखास्त आह्वान गरिएकोमा ८,४४,२९७ दरखास्त (सुरक्षा निकाय तथा संगठित संस्थाबाहेक) पर्न आएको तथ्यांकले समेत यस क्षेत्रमा युवा वर्गको आकर्षणलाई पुष्टि गरेको छ ।
आजको दिनसम्म आयोग योग्यता, निष्पक्षता र स्वच्छताका आधारमा उम्मेदवार छनोट गर्ने आफ्नो प्रतिवद्धतामा शत प्रतिशत प्रतिवद्ध रहेको कुरालाई कसैले नकार्न सक्दैन । शिक्षित युवाहरूको आकर्षणको केन्द्र बनेको लोक सेवा आयोग तयारी कसरी गर्ने भन्ने सम्बन्धमा हामीले केही उपयोगी सुझावहरू यहाँ प्रस्तुत गरेका छौ ।
पाठ्यक्रम अध्ययन गर्नुहोस्
एकदमै सामान्य लाग्ने यो सुझाव सुन्दा अचम्मको लाग्न सक्छ । लोक सेवाको तयारीमा जुटेका अधिकांश परीक्षार्थीलाई तोकिएको पाठ्यक्रममा के छ भन्ने समेत स्पस्टरूपमा जानकारी हुँदैन । यसले एकातर्फ परीक्षार्थीको कन्फिडेन्स लेबललाई घटाउँछ भने अर्कोतर्फ विषयगत परीक्षाका केही च्यालेन्जिङ र डिटरमाइनिङ प्रश्नहरूमा परीक्षार्थीलाई अनुत्तरित हुनबाट जोगाउन सक्दैन । पाठ्यक्रममा के छ भनेर भन्न सक्ने सम्म भएमा पनि यसले परीक्षामा ठूलै मद्दत गर्न सक्छ ।
प्रभावकारी सुरुवात गर्नुहोस्
भनिन्छ– वेल बिगन इज हाफ डन । लोक सेवा तयारीका सन्दर्भमा पनि यो अवश्य लागू हुन्छ । परीक्षार्थीले तयारीको सुरुवात गर्दा परीक्षालाई ट्राइलका रूपमा नलिई गहनतापूर्वक लिनुपर्ने हुन्छ । पहिलो पटक अथवा अनुभवका लागि भनेर यसलाई एकपटक हलुका ढंगले लिइयो भने परीक्षा हरेक पटक गाह्रो लाग्दै जाने हुन्छ, यसले असफलतालाई प्रश्रय दिन्छ । जसरी एउटा सिकारीले सिकार खेल्न जाँदा हतियारको धारिलोपनामा कन्जुस्याँई गर्दैन, त्यसैगरी परीक्षार्थीले परीक्षामा आफ्नो क्षमताले भ्याएसम्म पूर्ण लगावका साथ तयारी सुरु गर्न कन्जुस्याँई गर्नु हुँदैन । यसका साथै विषयगत प्रश्नको उत्तर दिने सन्दर्भमा पनि फस्ट इम्प्रेसन राम्रो पार्न सकिएको खण्डमा अंक प्राप्त गर्न त्यति कठिन हुने देखिँदैन ।
इन्नोभेटिभ स्टडी एन्ड एन्सरिङ टेक्निक 
परम्परागत शैलीको अध्ययनले अबको आवश्यकतालाई पूरा गर्न सक्दैन । हाल परीक्षामा सोधिने नयाँ शैलीका प्रश्नको समाधान गर्न अध्ययनको दायरालाई बृहत पार्नु अनिवार्य भइसकेको छ ।
विषयगत प्रश्नको समाधानका लागि :
– कुनै जानकारीको अन्य जानकारीसँगको डाइमेन्सन र लिंकेज पहिचान गरी अध्ययन गर्दा कतिपय अवस्थामा अनुत्तरित हुनबाट जोगिन सकिन्छ ।
– नकारात्मकताको मध्यमा सकारात्मकता केलाउन सक्ने क्षमता (स्टार्ट एन्ड इन्ड विथ पोजेटिभनेस), सटिक तथा आशावादी लेखन, समस्याको पहिचान तथा समाधानको बाटो (वे फरवार्ड) निष्कर्ष खिँच्न सक्ने क्षमताको विकास एवम् निरन्तर अभ्यासले लेखनलाई सार्प बनाउँछ ।
– संविधान, ऐन, नियम, आर्थिक सर्वेक्षण, बजेट, मौद्रिक नीति, सरकारका प्राथमिकता तथा विभिन्न अध्ययन प्रतिवेदनले लेखाईमा तथ्य तथा तथ्यांकको मिश्रण गर्न सहजता प्रदान गर्छ ।
वस्तुगत प्रश्नको समाधानका लागि :
– सम्भव भएसम्म आफूलाई सहज लाग्ने सूत्रको निर्माण गरी अध्ययन गर्ने । यसले उत्तर सम्झन सहज हुन्छ ।
– कुनै एउटा जानकारी भएर मात्र पुग्दैन, सो जानकारीका विविध आयामहरू केलाउँदै शुक्ष्म अध्ययनलाई जोड दिनु जरुरी छ ।
उदाहरणको लागि पहिले कम्प्युटरका पिता को हुन् भन्ने जानेर पुग्ने ठाउँमा अब उनको जन्म कहिले कहाँ भएको थियो, उनका माता पिता को–को थिए, मृत्यु कहिले भयो, उक्त कम्प्युटरमा पहिले के कस्ता उपकरणहरू प्रयोग भए, उनका मुख्य सहयोगी को थिए, उक्त कम्प्युटरको नाम तथा प्रोसेसिङ स्पिड के कस्तो थियोेलगायत जानकारी लिनु राम्रो हुन्छ । मूल जानकारीका अलावा त्यसको सुरुवात, वर्तमान र भविष्यको स्थिति, विश्व परिवेशसँग तुलना यी कुराहरूको अध्ययन अपरिहार्य बनेको छ ।
– यसका अलावा नविन जानकारी, पत्रपत्रिका, अन्तर्राष्ट्रिय समाचारमा निरन्तर अपडेट हुन, ग्रुप स्टडी र आइडिया सेयरिङ गर्नु अझ राम्रो हुन्छ ।
– मोबाइल, डिजिटल डिभाइस तथा इन्टरनेटलाई सही ढंगले उपयोग गरी तयारीमा प्रभावकारिता तथा अध्ययनमा सहजता ल्याउन सकिन्छ ।
समयलाई ख्याल गर्नुहोस्
समय सफलताका लागि प्रमुख औजार हो । परीक्षार्थीहरूले भोग्ने मुख्य समस्या हो– समय व्यवस्थापन गर्न नसक्नु । यसले गर्दा सजिला प्रश्नमा आवश्यकताभन्दा बढी समय व्यतित हुन गई पूरै परीक्षा नै बिग्रिन जाने हुन्छ । यसर्थ तयारीको सन्दर्भमै पनि उत्तर लेख्ने अभ्यास गर्दा परीक्षामा उपलब्ध हुने समयभित्रै प्रश्नले खोजेको सटिक उत्तर दिई प्रश्नलाई आवश्यकताभन्दा बढी समय नदिई बिट मार्ने कलाको विकास गर्नु पनि उत्तिकै जरुरी छ ।
पुस्तकको जानकारी हुबहु नलेख्नुहोस्
विशेषतः विषयगत प्रश्नको सन्दर्भमा यो नियम लागू हुन्छ । पहिले जस्तो यो लेखकको पुस्तकबाट प्रश्न पर्ने, त्यो पुस्तक पूरै पढेर हुबहु लेख्न सकेमा सफल हुने भन्ने अवस्था अब छैन । क्रिएटिभ एन्सर, क्रिटिकल एनालाइसिस र फ्याक्ट हालको जाँचकीले खोज्ने उत्तरका गुणहरू हुन् । यसर्थ कुनै पुस्तकको जानकारी हुबहु घोक्नुभन्दा उपलब्ध जानकारीलाई आफ्नो मौलिक नोटमा लिपिबद्ध गरी परीक्षा प्रयोजनका लागि अध्ययन गर्नु उपयुक्त हुन्छ । उत्तर लेख्ने मौलिक कलाको विकासले सफलताको दूरीलाई सीमित पार्न ठूलो मद्दत गर्न सक्छ ।
हिनताबोध नगर्नुहोस्
खप्तड स्वामीले भन्नुभएको छ, सफलताको लागि आत्मविश्वास, लगनशीलता र निरन्तर अभ्यासको आवश्यकता पर्छ । पटकपटक असफल भए पनि हिनताबोध गर्नु आफ्नै लागि घातक हुन्छ । तयारी गर्दा के कस्ता कमजोरी भए, सफल हुनेहरूले के कसरी सफलता प्राप्त गरे । यी दुई तथ्यलाई तुलनात्मक अध्ययन गर्दै आफ्नो अध्ययन शैलीलाई परिष्कृत गर्दै तथा ज्ञानको दायरालाई फराकिलो बनाउँदै लैजानुपर्छ ।
के के गुमाउनुभयो ?
हामीले तयारी गर्दा के पाउने भनेर मात्र आँकलन गर्छौं । तयारी गर्दा केही महिना वा वर्ष मात्र गुम्दैन । ध्यानै नपुगेका थुप्रै कुराहरू हामीले गुमाइरहेका हुन्छौं । समय, आर्थिक तथा बौद्धिक लगानीसँगै परीवारलाई समय दिन नसक्नु, एक्लोपना, शारीरिक एवम् मानसिक तनाव, आलोचना, द्विविधा आदि विविध पक्षहरूसँग परीक्षार्थीले संघर्ष गर्नुपर्ने हुँदा हरक्षण आफूले के के गुमाउँदै छु भन्ने सन्दर्भलाई हेक्का राख्दै आफ्नो लक्ष्य प्राप्तिका लागि प्रतिपस्पर्धालाई हलुका रूपमा नलिई तयारी गर्नुपर्छ ।
डिटरमिनेसन इज दि मोस्ट 
सफलता वा विफलता मानिसको अठोटले निर्धारण गर्छ । लोक सेवाका सन्दर्भमा एउटा अचम्मको तथ्य के छ भने जतिसुकै कमजोर शैक्षिक पृष्ठभूमिका व्यक्ति पनि यसमा सफल भएका छन् । विश्वविद्यालयका गोल्ड मेडलिस्टदेखि सामान्य श्रेणीमा उत्तीर्ण भएका व्यक्तिसम्म सबै क्षमताका जनशक्ति लोक सेवाको एउटै परीक्षण प्रणालीमा सफल हुनुको मुख्य कारण दृढ संकल्प तथा निरन्तर अध्ययन एवम् पृथक उत्तर शैली नै हो । आजैका मितिदेखि अध्ययनलाई नियमित बनाउनुहोस् । यति समयमा यो विषय अध्ययन गर्छु भन्ने तयारीका साथ अध्ययनको सुरुवात गरेको खण्डमा सफलता परीक्षार्थीको हातबाट टाढा रहन सक्दैन ।
 भोजराज भट्ट (शाखा अधिकृत)
 केदारप्रसाद खतिवडा (नायव सुब्बा)

Post a Comment

0 Comments