देशमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भर्खरै सकिएर सरकारले प्रदेश प्रमुख तोक्ने तयारीमा रहेको छ । राष्ट्रिय सभा गठन अध्यादेश राष्ट्रपतिकोमा अड्केको अवस्था छ । सरकार पक्ष र प्रतिपक्षीहरु एकापसमा आरोप प्रत्यारोप गरिरहेको प्रसंग एकातिर छ भने भर्खरै सकिएको चुनावमा गठवन्धन बनाएर संगै लडेका माओबादी केन्द्र र एमालेले पार्टी एकीकरण गर्ने कुराले देशका मिडियाहरुमा प्रमुख स्थान पाएका छन् । केन्द्रमा चलिरहेको यो जुहारीसंगै प्रदेशहरुमा पनि प्रदेशकेन्द्र कहाँ तोक्ने भन्ने विषयले प्रमुख स्थान पाएको अवस्था छ । प्रदेश राजधानी तोक्ने अधिकार प्रदेशसभालाई छ । कतिपय जनप्रतिनिधी यस विषयमा खुलेर आफ्नो धारणा वा दावी प्रस्तुत गरेका छन् भने कोहि अहिलेसम्म पनि मौन छन् । नेताहरुले जेजस्तो कुराहरु गरेपनि अधिकांस प्रदेशवासीहरुले आफ्नो निजि धारणा भने बनाइसकेको बुझ्न सकिन्छ । कतिपयले आफ्नो मात्र पायक हेरेर यहाँ भैदिए हुन्थ्यो भन्दै छन् भने कतिपयले समग्र प्रदेशको केन्द्र र सबैलाई पायक पर्ने ठाउँ हुनुपर्ने बिचार राख्दछन । लोकतन्त्रको सबैभन्दा राम्रो पक्ष नै यहीं हो, सबैलाई फरक मत राख्ने छुट छ ।
प्रदेश ५ को नक्सा र जसअन्तर्गत पर्ने जिल्लाहरु |
“प्रदेश पाँचको राजधानी दाङ कि बुटवल ?” भन्ने प्रश्नमा अधिकांश गुल्मेलीको जवाफ “बुटवल” आउँछ । यसका दुइटा कारण हुन्, गुल्मी बुटवलसंग सिधा सडकसंजालले जोडिनु र धेरैजसो गुल्मेलीहरुको जग्गा जमिन रुपन्देहीमा हुनु । अब एकैछिन यी दुइटै कुरालाई बिर्सेर यहीं पाँच नम्बरको कुनै कुनाको बासिन्दा बनेर प्रश्न गरौँ “दाङ के कारणले प्रदेश राजधानी बन्न अनुपयुक्त छ?” यो प्रश्नको जवाफ दिनुभन्दा पहिले राजनीतिक वृत्तमा देश कै राजधानी दाङलाई बनाउनुपर्छ भन्ने सम्मको चर्चा/परिचर्चा भएको यथार्थलाई पनि संगसंगै सम्झिऔं । तपाई हामी सबैलाई थाहा छ, दाङ एसिया कै सबैभन्दा ठूलो उपत्यका मानिन्छ । यो भन्दै गर्दा “ठूलोले के अर्थ राख्छ ?” भन्ने प्रश्न आउला । प्रदेश राजधानी बनेसंगै अब छिट्टै त्यहि किसिमका संरचनाहरु बन्नेवाला छन् । संघीयतालाई सजिलो भाषामा सम्झिनुस, परिवारका भाइ-भाइ छुट्टिए, अब प्रत्येक भाइका लागि छुट्टै घर, छुट्टै चुलो बन्नेवाला छ । प्रदेश सरकार र मातहतका कार्यालय र विभागहरु, त्यस्तै प्रदेश संसदका लागि आवश्यक संरचना बन्नको लागि त्यहि “ठूलो” ले ठूलै महत्व राख्छ ।
चर्चा किन दाङ र बुटवलको मात्र ?
कतिपयको प्रश्न छ, किन प्रदेश राजधानीको चर्चा बुटवल र दाङ मात्र भयो? पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, भैरहवा वा कपिलबस्तुको किन बढी चर्चा भएन ? नेपालको अन्यत्र जस्तै पाँच नम्बर प्रदेशको तराई तुलनात्मक रुपमा पहाडभन्दा विकसित छ वा भनौं विकास गर्न सहज छ । तराईका जिल्लालाई सबै पहाडी जिल्लाले सिधा सडक संजालले जोडेको छ तर पहाडी जिल्लाहरु बीच सबैमा एकापसमा सडकले जोडिएको छैन, जोडिएको भएपनि सहज आवतजावत छैन । हुनुपर्ने त यस्तै कम विकास भएका जिल्लालाई प्रदेश केन्द्र तोकेर माथी उठाउनुपर्ने हो तर त्यसका लागि ठूलै बजेट भौतिक निर्माणमा खर्चनुपर्ने हुनसक्छ । तत्कालका लागि त्यो असम्भव जस्तै छ । अब रह्यो भैरहवा र कपिलबस्तुको कुरा, भैरहवा भौगोलिक रुपमा पाँच नम्बर प्रदेशको केन्द्र भागमा पर्दैन । बरु कपिलबस्तु भौगोलिक रुपमा प्रदेश राजधानीको दाबेदार हुनसक्छ तर बलियो केन्द्रिय नेताको कमीको महसुस कपिलवस्तुले गरेको छ । त्यसैले यसको चर्चा अलि कम भएको देखिएको छ । यहाँ बढी चर्चा भएका र धेरै सम्भावना बोकेका “बुटवल र दाङ” को कुरा गरौँ ।
दाङ, रुपन्देही भन्दा कम विकसित छ भन्नेहरुले सम्झनुस, दाङ ती “तीन जिल्ला” भित्र पर्छ, जसका २/२ उपमहानगरपालिकाहरु रहेका छन् । अरु २/२ उपमहानगरपालिका हुने जिल्लाहरुमा २ नम्बर प्रदेशको बारा र १ नम्बर प्रदेशको सुनसरी मात्र हुन् । त्यति मात्र होइन घोराही देशकै सबैभन्दा ठूलो (क्षेत्रफलमा) उपमहानगरपालिका पनि हो । यति हुदाँहुदै पनि दाङको राम्रो पक्ष, यहाँ जनघनत्व कम नै छ । विकास भैसकेको ठाउँलाई भन्दा विकास हुदै गरेको ठाउँलाई नै चयन गर्नु उपयुक्त हुन्छ । पाँच नम्बर प्रदेशका सबैभन्दा कम विकसित जिल्लाहरु रुकुम र रोल्पा हुन्, यिनको विकासको लागि पनि प्रदेशको केन्द्र कहाँ बन्ने भन्ने विषयले महत्व राख्छ । काठमाडौँलाई देशको राजधानी तोकिदा फरकफरक बजेट छुट्टिने छिमेकी जिल्लाहरु ललितपुर र भक्तपुरले पनि विकासमा भरपुर फाईदा लिएजस्तै, दाङलाई प्रदेशको राजधानी तोकिएमा, विकासको हिसावमा दाङ काठमाडौँ जस्तो बन्दै गर्दा निकट भविष्यमा रोल्पाको लिबाङ र रुकुम पुर्वको रुकुमकोट बुटवल जस्तो बन्नेछ ।
संगसंगै अर्को तथ्य पनि जानौं, रुपन्देही देश कै तेश्रो धेरै जनसंख्या भएको जिल्ला हो । सर्वाधिक पटक देश कै उत्कृष्ट नगरको सम्मान पाएको बुटवलमा एकैचोटी थामीनसक्ने जनसंख्याको चाँपले अहिलेको जस्तो सुन्दर बुटवललाई कायम राखिराख्छ भन्नेमा शंका गर्ने ठाउँ रहन्छ । बुटवल पहिले नै विकसित छ । यो पश्चिम नेपालको आर्थिक राजधानी हिजो पनि हो र भोली पनि निसन्देह रहिरहनेछ । यसका लागि प्रशाशनिक राजधानी बुटवल नै बनाउनुपर्ने कुनै आवस्यकता नै छैन ।
पाँच नम्बरमा गुल्मी-अर्घाखाँचीमात्र पर्दैनन्, बाके र बर्दिया पनि पर्छन् । त्यतिमात्र होइन बाग्लुङसंग सीमा जोडिएको पूर्वी रुकुम पनि पर्छ भन्ने कुरालाई पनि हामीले नभुलौं । यी ठाउँ नपुगेकाहरुले पनि पाँच नम्बरको नक्सा हेरेर भन्न सक्नुहुन्छ, यीनीहरुलाई बुटवल होइन दाङ नै पायक पर्छ ।
गुल्मी देखि बुटवल पुग्न पाल्पा हुदै जानुपर्छ, अर्थात एउटा जिल्ला पार गर्नु नै पर्छ । ठ्याक्कै त्यस्तै अर्घाखाँचीलाई पार गरेर वा प्युठानलाई पार गरेर दाङ पुग्न सकिन्छ । फरक यत्ति हो, बुटवलसंग पहिलेदेखि सिधा सडक संजाल बनेको छ, दाङसंग सिधा आवतजावत छैन । दाङ राजधानी नै बन्ने भएमा दाङसंग पनि सिधा सडक संजाल बन्नेछ र यस सडकले छुने ठाउँहरुमा अर्को विकासको लहर ल्याउनेछ । तमघासदेखि प्युठान हुदै सुर्खेत जोड्ने सडक पनि अहिले निर्माणाधीन छ ।
बुटवल भौगोलिक हिसावले पनि पाँच नम्बर प्रदेशको ठ्याक्कै केन्द्र भागमा पर्दैन । यसैले सबैलाई पायक पर्ने ठाउँ चर्चामा रहेका “बुटवल र दाङ” मध्ये दाङ नै हो ।
अब कुरा गरौँ विश्वका त्यस्ता शहर जो राजधानी होइनन् तर राजधानी भन्दा विकसित छन् ।
विश्वका यस्ता शहर जो राजधानी भन्दा पनि विकसित छन्
अस्ट्रेलियाको राजधानी क्यानबेरा भएतापनि सिड्नी सबैभन्दा ठूलो, सबैभन्दा विकसित र चर्चित शहर हो । त्यस्तै ब्राजिलको राजधानी ब्रासिलिया हो तर यहाँको सबैभन्दा ठूलो शहर साओ पाउलो हो । क्यानाडाको टोरोन्टो शहर, राजधानी ओटावा भन्दा ठूलो र विकसित छ । छिमेकी देश चीनको राजधानी बेइजिङ भन्दा सांघाई ठूलो शहर हो । त्यस्तै अर्को छिमेकी देश भारतमा राजधानी नयाँ दिल्ली भन्दा मुम्बई ठूलो शहर हो । युएईमा पनि राजधानी आबुधावी भन्दा दुबई ठूलो शहर हो । संयुक्त राज्य अमेरिकाको राजधानी वासिंटन डिसी भन्दा न्यूयोर्क सिटि ठूलो छ । त्यति मात्र होइन श्रीलंका, फिलिपिन्स, दक्षिण अफ्रीका, सुडान, स्वीजरल्याण्ड, तान्जानिया, टर्की, भियतनाम, ताइवान, पाकिस्तान, नाइजेरिया, म्यानमार, न्युजिल्याण्ड, मोरक्को, काजकस्तान, क्यामरुन, बोलिभिया लगायत दर्जनौ देशहरुमा ठूला र विकसित शहरहरु छन् जुन राजधानी होइनन् । त्यसैले राजधानी तोकिदैमा एउटामात्र ठाउँ विकसित हुन्छ भन्ने हुदैन ।
चक्र भण्डारी (सत्यवती ६ गुल्मी) | गुल्मीन्युज डट कम मा प्रकाशित
0 Comments