प्रश्न. नेपाल राजपत्रको परिचय दिई यसको महत्व उल्लेख गर्नुहोस्।
नेपाल राजपत्र नेपाल सरकारको आधिकारिक प्रकाशन हो। विधायिकाबाट पारित भएका ऐन, सरकारले जारी गरेका अध्यादेश, नियम र महत्वपूर्ण सूचनाहरू राजपत्रममा प्रकाशित गरिन्छ। कानुन, सरकारी आदेश र अधिकारपत्र तथा सरकारका महत्वपूर्ण सूचना प्रकाशन गरिने भएकाले नेपाल राजपत्रलाई नेपाल सरकारको आधिकारिक मुखपत्रसमेत भन्ने गरिन्छ। केही सार्वजनिक लिखत प्रमाणीकरण नियमालवी, २०६३ बमोजिम प्रमाणीकरण भएका सार्वजनिक लिखतहरू सर्वसाधारणको जानकारीको लागि नेपाल राजपत्रको देहायको भागमा प्रकाशन गर्नु पर्छ ।
क) संविधान वा संविधान सरहका घोषणापत्र, भागः १
ख) ऐन वा अध्यादेश, भागः २
ग) नियम, नेपाल सरकारले जारी गरेका आदेश वा अधिकारपत्र, भागः ३
घ) संविधान अन्तर्गतका नियुक्ति वा अन्य सूचना, भागः ४
ङ) ऐन, नियम वा आदेश अन्तर्गत वा नेपाल सरकारको निर्णयबमोजिम राजपत्रमा प्रकाशन गर्नुपर्ने सूचना, भागः ५
च) नेपाल पक्ष भएका सन्धि, भागः ६ ।
नेपाल राजपत्रको महत्व:
- नेपालका ऐन, नियम, राष्ट्रप्रमुखबाट जारी हुने आदेश वा सरकारका महत्वपूर्ण सूचनाहरू सर्वसाधारणलाई जानकारी गराउन,
- सुसूचित हुने नागरिक हकको सम्मान गर्न,
- महत्वपूर्ण सरकारी निर्णयलाई वैधानिकता दिन,
- राजकीय पदहरूमा हुने महत्वपूर्ण नियुक्ति सार्वजनिक गर्न, सरकारी क्रियाकलापलाई पारदर्शी बनाउन,
- नयाँ कानुन निर्माण, कानुनमा भएको संशोधन
- तथा खारेजीको आधिकारिक जानकारी एउटै माध्यमबाट गराउन,
- नेपाल सरकारले विदेशी राष्ट्रसँग गरेका सन्धिको प्रकाशन गरी नागरिकलाई सुसूचित गर्न।
अन्त्यमा नेपालका ऐन, नियम, सरकारले जारी गर्ने आदेश तथा अधिकारपत्र र सरकारका महत्वपूर्ण सूचनाको खुलासा गर्ने आधिकारिक माध्यम नेपाल राजपत्र हो। नेपालको कानुनले सार्वजनिक लिखत प्रमाणीकरण भएपश्चात् राजपत्रमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ। यस व्यवस्थाले सरकारी निर्णय प्रव्रिmया र कामकारबाहीलाई पारदर्शी बनाउन मद्दत गर्छ।
0 Comments