पौराणिक कालदेखि नै नेपाल तपोभूमीको रूपमा आफ्नो विशिष्ट पहिचान कायम गर्दै आएको छ । यहाँ विभिन्न सन्त, महन्त र ऋषिहरूले तप, ध्यान र साधनाको माध्यमबाट प्रतिपादन गरेका सिद्धान्तहरूले धर्म र विज्ञानका क्षेत्रमा अतुलनीय योगदान पुर्याएका छन् । भगवान् गौतम हुन् वा किरात धर्मका महागुरू फाल्गुनन्द यसै भूमीका भूमीपुत्र हुन् । विभिन्न देवीदेवताहरूको क्रिडास्थल नेपालका धेरै स्थलहरूको धार्मिक तथा ऐतिहासिक महत्व रहिआएको छ । योग, आयुर्वेद होस् वा संस्कृत व्याकरणको प्रादुर्भावसँग नेपालीभूमीको सम्बन्ध प्रत्यक्षपरोक्ष रुपमा जोडिएको छ ।
शरणार्थीको रूपमा नेपाल प्रवेश गरेका गोपालवंशी, महिषपालवंशी, किरातवंशी, मल्लवंशी हुन् वा पछिल्ला शाहवंशी शासकहरूले यस देशको विशिष्ट संस्कार, संस्कृति, परम्परा र रीतिरिवाजका विरूद्ध धावा बोल्न सकेनन् बरू यसैलाई अङ्गालेर यहाँको शासनसत्ता सम्हाले ।
क्षेत्रफलको हिसाबले विश्वको मध्यम आकारको मुलुक भएतापनि नेपाल विविधताले भरिपूर्ण छ । नेपालमा भौगोलिक, जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक विविधता स्पष्ट देख्न पाइन्छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मानिसहरूको साझा फूलबारी हो ।
नेपालका मठमन्दिरहरू तथा धार्मिक स्थलहरुको साइनो देवकालसँग जोडिएको छ तर धेरैलाई यी विषय जानकारी छैन । नेपाल धार्मिक-साँस्कृतिक हिसाबले निकै नै धनी छ । समाजमा हुने विभिन्न राजनीतिक, धार्मिक, आर्थिक, सांस्कृतिक गतिविधिदेखि लिएर ज्ञान-विज्ञान, साहित्य, कला, मनोरञ्जन आदि जस्ता सम्पूर्ण गतिविधि राष्ट्रलाई पहिचान गराउने तत्वहरू हुन् । यहाँका धार्मिक पहिचान र खास महत्वका विषय विश्वसामु प्रचारप्रसार गरेमा राष्ट्रको अर्थोपार्जन हुनुका साथै विश्वसामु नेपालको शिर उचो हुने निश्चित छ ।
राष्ट्रियताका विषयमा हामी नेपाली धेरै नै कमजोर छौं । हुँदै नभएको ठाउँको समेत प्रचारप्रसार गरेर भारतीयहरूले धार्मिक सांस्कृतिक पर्यटनलाई बढावा दिएका छन् । हामी नेपालीले भएका सम्पदाहरुको समेत संरक्षण र प्रचारप्रसार गर्न सकेका छैनौं । नेपाल सरकार, पुरातत्व विभाग, प्रदेश सरकार र स्थानीय सरकारको प्रभावकारिता यस क्षेत्रमा देखिदैन । पछिल्लो समय नेपाललाई जनताको जनमत विपरित धर्म निरपेक्ष घोषणा गरिएको छ । दिगो पर्यटनसँग जोडिएको धर्म संस्कृतिको संरक्षण र प्रचारप्रसार राज्यको प्राथमिकतामा पर्दैन ।
नेपालमा सदियौंदेखि देखिएको धार्मिक तथा जातीय सद्भाव र सहिष्णुतालाई खल्बलाउन केहि तत्वहरू लागिरहेका छन् । विदेशी प्रायोजित गतिविधिलाई रोक्दै नेपालको मौलिकताको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो । पुरानो पुस्ता धार्मिक तथा सांस्कृतिक विषयको खोजअनुसन्धानमा केहि हदसम्म लागेको भएतापनि नयाँ पुस्तामा यी विषय हस्तान्तरण गर्नमा असफल देखिन्छ । देशमा धार्मिक, सांस्कृतिक र नैतिक संकट देखिएको आजको समयमा सनातन सभ्यताका विषयमा धार्मिक पुनर्जागरणको आवश्यकता टड्कारो देखिन्छ । नेपालका धार्मिक धरोहरहरूको खोज अनुसन्धान गर्ने, प्रचारप्रसार गर्ने, संरक्षण गर्ने, पूर्वाधारहरूको विकास गर्ने र नयाँ प्रविधिसँग जोड्दै यसका महत्वलाई बुझाउदै नयाँ पुस्तालाई यस क्षेत्रमा सक्रिय गराउनुपर्ने आवश्यकता देखिन्छ । नेपालमा पछिल्लो समय देखिएको धार्मिक अतिक्रमणलाई परास्त गर्दै बलियो जनाधार निर्माण गर्नु आजको आवश्यकता बन्न पुगेको छ ।
जय मातृभूमी !
0 Comments