राष्ट्रियताको सवालमा कमजोर हामी नेपाली

नेपाल सरकार पुरातत्व विभागको एउटा पुरानो चेतावनीमूलक साइन बोर्ड छ । नजिकै बैरीमाई मन्दिर लेखिएको खुइलिएको अवस्थाको अर्को बोर्ड छ । मन्दिरमा प्रवेशद्वार छैन । वरिपरि काँडेतारले घेरिएको भएतापनि तार अड्याउन प्रयोग भएका काठका  खम्बा धेरै जसो ढलेको अवस्थामा छन् । मान्छेहरूको कुनै आवातजावत, चहलपहल छैन, सुनसान छ । प्रस्तुत अवस्थामा रहेको  (तस्वीर र भिडियोमा देखाइएको) दृश्य हो, देवदहका महत्वपूर्ण पुरातात्विक सम्पदाहरु बैरीमाई र कन्यामाई । 

यी मन्दिरहरूको साइनो बुद्ध कालसँग जोडिएको छ तर धेरैलाई जानकारी छैन । नेपाल सरकार, पुरातत्व विभाग, प्रदेश सरकार र स्थानीय सरकारको देखिने काम यस ठाउँमा  पाउन सकिदैन ।  राष्ट्रियताका विषयमा हामी नेपाली धेरै नै कमजोर छौं । हुँदै नभएको ठाउँको समेत प्रचारप्रसार गरेर भारतीयहरूले धार्मिक सांस्कृतिक पर्यटनलाई बढावा दिएका छन् । हामी नेपालीले भएका सम्पदाहरुको समेत संरक्षण र प्रचारप्रसार गर्न सकेका छैनौं ।

यस क्षेत्र पनि संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । सम्बन्धित निकायको ध्यान पुगोस् । 

Kanyamai Bairimai

केहि स्रोतहरूको आधारमा मैंले भेटेको यी क्षेत्रको महत्वका विषयमा छोटो जानकारी यहाँ प्रस्तुत गरेको छु ।

बैरिमाई:

शाक्यमुनि बुद्धकी माता मायादेवीको सम्झनामा बैरिमाईको मन्दिर निर्माण गरिएको जनविश्वास छ । बैरिमाई शब्द बडीमाईबाट आएको हो, जसको अर्थ "ठुलो आमा" वा "जेठी बहिनी" भन्ने हुन्छ । कोलिया राज्यकी जेठी राजकुमारी मायादेवीलाई बडीमाई भनिन्थ्यो र उनैको सम्मानमा यस बडीमाई मन्दिर निर्माण भएको स्थानीयहरू विश्वास गर्छन् ।

मायादेवीले सिद्धार्थलाई जन्म दिएकी थिइन् भनेर प्रजापतिले उनको हेरचाह गरेकी थिइन् । देवदहका मानिसहरूले उनको यत्ति आदर गरेका थिए कि प्रकारान्तरमा उनलाई देवीको उपमा प्रदान गरिएको थियो ।

यस मन्दिरमा रहेको मुर्ति बुद्धकालीन हो । उत्खननबाट यस क्षेत्रमा त्यस समयका इट्टा र भाडाकुडाका टुक्राहरू भेटिएका थिए ।

कन्यामाई:

कन्यामाई मन्दिर शाक्यमुनि बुद्धकी सौतेनी आमा रानी प्रजापति गौतमीको सम्झनामा निर्माण भएको जनविश्वास छ । मन्दिरमा फेला परेका मुख्य तस्बिरहरूमा लोकेश्वरको एउटा हातमा कमलको फूल समातेको (अर्को हात भाँचिएको) र धेरै ढुङ्गाका मूर्तिहरू छन् । नजिकैको ढिस्कोमा पुरातन भाँडाकुँडाहरू अझै पनि देखिन्छन्। 

मैंले मेरो ब्लगमा संकलन गरी राखेको यो पोष्ट हेर्न सक्नुहुनेछ ~ यहाँ क्लिक गर्नुहोस्

Post a Comment

0 Comments