रूरू क्षेत्र परिचय

(सन् २०१६ जनवरी १७ गते अर्को ब्लगमा प्रकाशित रूरू क्षेत्र परिचयलाई यहाँ साभार गरिएको हो । यसको अङ्ग्रेजी संस्करण पढ्न यहाँ क्लिक गर्नुहोस् । )

    परिचयः

    पौराणिक काल देखी पवित्र तिर्थस्थलको रूपमा परिचित रुरुक्षेत्र (रिडी) गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल हो।

    पश्चिम नेपालको ब्यापारिक राजधानी बुटवल देखी करीब ७० किलोमिटर उत्तरमा अवस्थित यो क्षेत्र गुल्मी जिल्लाको मुलद्वार हो। यो सामुन्द्रिक सतह देखी १८०० फीटको उचाइमा रहेको छ। चारै तिरबाट पहाडै पहाडले घेरीइ बिचमा समथर जमीन रहेकोले यस्को प्राकृतिक बनावट उपत्यका जस्तो देखिन्छ।

    यो ठाउँमा सडक मार्ग भएर काठमाडौं बुटवल तानसेन हुँदै आउन सकिन्छ। यहाँ आउन सबै प्रकारका निजी तथा भाडाका सवारी साधन पाउन सकिन्छ। साथै हवाइ मार्ग भएर आउँदा भैरहवा बिमानस्थल देखी बुटवल हुँदै आउन सकिन्छ। पक्की सडक, सन्चार,विद्युत, होटल,शिक्षा तथा मनोरन्जन लगायतका सम्पूर्ण सुबिधाहरूले यो ठाउँ सुगम बनेको छ।

    कालीगण्डकीको तटमा अवस्थित यो ठाउँमा १८ सालमा आएको भिषण बाढीले रिडी बजारलाई पुरै ध्वस्त बनाएको थियो। जसका कारण यहाँका ऐतिहासिक तथा धार्मिक महत्वका सम्पदाहरू सहित ठुलो धनजनको क्षती हुन पुगेको थियो।

    सो महाविनास पछी बनेका नयाँ घरहरू,मन्दिर,पाटी,पौवा तथा बगैचाहरूले यो ठाउँलाई ब्यबस्थित बनाउनुका साथै यस्को सौन्दर्यता समेत थपेको छ। कालिगण्डकीको किनारामा अवस्थित रुरुक्षेत्रको महिमा पुराण तथा शास्त्रहरूमा उल्लेख गरेको पाइन्छ। बराह पुराणमा रुरु क्षेत्रको पौराणिक इतिहासको बर्णन गरिएको छ, भने श्रीस्वस्थानीमा पनि यसै स्थान (भिर्गुतुङेश्वर)मा सतीदेवीको दन्त पतन भएको उल्लेख गरिएको छ।

    नेपालका चार धार्मिक क्षेत्रहरू (रुरुक्षेत्र, बराहक्षेत्र, पाशुपतक्षेत्र र मुक्तीक्षेत्र) मध्येको एकक्षेत्र रुरुक्षेत्र पनि हो। यो ठाउँलाई नेपालको बनारसको रूपमा पनि चिन्ने गरिन्छ।

    बिदेशी बिद्वान पर्सिवल ल्यान्डनले ‘नेपाल’ नामक पुस्तकमा बनारसमा उपलब्ध सम्पूर्ण विशेषताहरू रुरुक्षेत्र सँग मेल खाने भएकोले यसलाई बनारस सँग तुलना गर्दै “नेपालको बनारस” भनी टिप्पणी गरेका छन्।

    भगवान बिष्णुको प्रतिक मानिने शालीग्राम पनि यहाँ पाउन सकिन्छ। त्यसैले यो क्षेत्र शालग्राम क्षेत्रको रूपमा पनि परिचित छ। यहाँ चक्र तथा बिभिन्न आकारका दुर्लभ शालिग्रामहरू पाइन्छ। त्यस्तै यहाँ बर्ष भरीमा थुप्रै मेलाहरू लाग्ने गर्दछन्। मुख्यत यहाँ माघेसंक्रान्ती तीन दिन र ऋशिकेश उत्सबमा २ दिन भब्य मेला लाग्ने गर्दछ। यहाँको माघेसंक्रान्ति मेला देश कै सबैभन्दा ठुलो मध्येको एउटा मेला हो।

    साथै बर्ष भरीको औंशी,पुर्णिमा,ग्रहण तथा बैशाख महिनाको प्रत्येक शनिबार यहाँ ठुलो मेला लाग्ने गर्दछ। एक कोशीय क्षेत्रफल भित्रै यहाँ करीब ४० भन्दा बढी मन्दिरहरू रहनु यो क्षेत्रको ठुलो विशेषता हो। यहाँ रहेको ऋशीकेश मन्दिर नेपालकै सुप्रशिद्ध मन्दिरहरू मध्येको एक मानिन्छ जुन बिश्व सम्पदा सुचीको लागि मनोनयमा समेत परेको छ।

    यिनै भगवान ऋषीकेशको बिराजमान, कालीगण्डकीको बहाव तथा शालिग्रामको उपलब्धता जस्ता त्रैआयामिक विशेषताहरूको संगम रहनाले रुरु क्षेत्र बिशिस्ट धार्मिक पहिचान बनेको छ। यो क्षेत्र धार्मिक स्थल मात्र नभएर यो भेगको मुख्य ब्यापारिक केन्द्रबिन्दु पनि हो। प्राचिनकाल देखीनै यो गुल्मी, पाल्पा, स्याङ्जा, अर्घाखाँची,बाग्लुङ, रुकुम र रोल्पा लगायत अन्य आसपासका जनताहरूको ब्यापारिक केन्द्रबिन्दु रहदै आएको छ। यहाँ सडक यातायातको सुबिधा हुनपूर्व पनि मानिसहरू आफैले बोकेर तथा खच्चडको माध्यमबाट सामानहरूको ढुवानी गर्दथे।

    प्राचिनकालमा भोट,नेपाल उपत्यका तथा मधेस आउन जानको लागि यो ठाउँ पायक पर्दथ्यो। गुल्मी जिल्लाको प्रवेशद्वार रहेको यो ठाउँ हुँदै अर्घाखाँची, बाग्लुङ र स्याङ्जा जिल्लालाई सडक यातायातले जोडेको छ। हाल देशले चरम उर्जा संकट बेहोरीराखेको अवस्थामा यहाँ खेर गएको खोलाको पानीबाट २.४ मेघावाट बिद्युत उत्पादन गरी यो क्षेत्रलाई लोडसेडिङ मुक्त क्षेत्र बनाइएको छ। 

    यहाँको अर्को विशेषता भनेको ऐतिहासिक पक्ष हो। इतिहासमा पाल्पाली राजा मणीमुकुन्द सेन, भिमसेन थापा,जंग बहादुर राणा तथा राजामहाराजाहरूको प्रमुख गन्तव्य रहेको बताइन्छ। साथै भिमसेन थापाले यो ठाउँमा एउटा मन्दिर र पौवा समेत बनाएका छ्न्। त्यस्तै श्री ३ जुद्ध शम्शेर राणाले यो क्षेत्रमा कल्पबास बस्न आएका थिए। त्यही कल्पबास बस्ने प्रायोजनको लागि उनले अर्गलीमा दरबार बनाएका थिए जुन अहिले पनि बिद्यमान छ।

    नामाङ्कनः

    “रुरुक्षेत्र” यो ठाउँको पौराणिक नाम हो। यसलाई रिडी क्षेत्र पनि भन्ने गरिन्छ। यसको नामाङ्कन कसरी भयो भन्ने बारेमा आज धेरै ब्यक्तीहरू बिच मतभेद रहेको पाइन्छ। रुरु अर्थात मृगले देवदत्त ऋषीको पुत्रीलाई स्तनपान गराइ हुर्काएको कारणले तिनलाई रुरुकन्या भनियो। तिनै कन्याले यहाँ कठोर तपस्या गरी मुक्ती पाएकोले यो ठाउँ उनै कन्याको नामबाट ‘रुरुक्षेत्र’ भनी चिनिन थाल्यो भन्ने मत पाइन्छ। पछि ‘रुरुक्षेत्र’ शब्द अपभ्रंश भई ‘रिडी क्षेत्र’ बन्न गएको भन्ने मान्यता पाइन्छ।

    रुरु क्षेत्रका बारेमा विभिन्न धार्मिक मान्यताहरु रहेका छन्। मानिस जन्मदै तीन वटा ऋण: १. देव ऋण, २. पितृ ऋण र ३. ऋषी ऋण लिएर आएको हुन्छ। जो ब्यक्ती हिमालय देखी बग्दै आएको काली गण्डकीको संगम अर्थात दोभानमा स्नान गर्छ सो ब्यक्तीको पाप पखालिन्छ भन्ने मान्यता रहेकोले यो स्थानलाई ऋणी भनीन थालियो पछी ऋणी भन्ने शब्द अपभ्रंस भई ‘रिडी’ बन्न गएको भन्ने धारणा पाइन्छ।

    त्यस्तै अर्को मान्यता अनुसार ‘रिडी’ भन्ने शब्द मगर भाषाबाट आएको हो। मगर भाषामा ‘री’भन्नाले कालो तथा ‘डी’ भन्नाले पानी भन्ने अर्थ लाग्छ। अर्थात कालो पानी बग्ने क्षेत्र (काली गण्डकी )भएकोले यसलाई ‘रिडी’ भनिएको हो भन्ने तर्क पाइन्छ।

    पौराणिक गाथा:

    धेरै समय पहिले रुरुक्षेत्रमा देवदत्त नाम गरेको एकजना ब्राम्हण बस्दथे। उनले कालिगण्डकीको किनारमा आश्रम बनाइ तपस्या गर्न थाले। अत्यन्तै कठोर तपस्यामा लागेको देखेर देवराज ईन्द्र सशंकित भई उनको तपस्या भङ्ग गर्नतर्फ लागे। सोही अनुरूप उनले देवदत्तको आश्रममा प्रह्मलोचा नामको अप्सरालाई तपस्या भङग गर्न पठाए।

    जब देवदत्त उनको ध्यानबाट उपरत भई केही समय यताउती घुम्न थाले तब उनले टाढैबाट भकुन्डो खेली राखेकी अत्यन्तै सुन्दरी प्रह्मालोचालाई देखे। अप्सराको हाउभाउ कटाक्षले मुनी मोहित भए। उनको सुन्दरताप्रति बसिभुतभई विवाहको प्रस्ताब राखे र दुबै जना विवाह बन्धनमा बाँधीई संसारिक सुखमा बिलिन भए। केही समयको अन्तराल पछी प्रह्मालोचाले एउटी कन्यालाई जन्म दिइन। ततपस्चात उनले आफ्नो उधेश्य पुराभएको सम्झी ति कन्यालाई त्यही आश्रममा छाडेर स्वर्ग गइन। यो कुराको वास्तविकतालाई बुझे देवदत्त छाँगा बाट खसे झै भए। उनको हृदयमा तिब्र बैराग जागेर आयो ततपस्चात उनी उत्तरतिरको भ्रिगु आश्रमतिर लागे र भगवान शिवको कठोर तपस्या गर्नथाले। उनको तपस्या देखी भगवान शिव प्रशन्न भई उनको सामु प्रकट भए र आशिर्बाद दिए ‘जसले गण्डकीको नदीमा स्नानगरी शिवलिङ्ग (भ्रिगुतुमको)को दर्शन गर्ला उसले शिद्धी प्राप्त गर्नेछ’ भनी भगवान शिव अन्तरध्यान भए। प्रह्मालोचाबाट जन्मेकी कन्यालाई पछी मृगले दुध पिलाएर हुर्काए। संस्कृत भाषामा मृगलाई रुरु भनिन्छ। त्यही रुरुले दुध पिलाएर हुर्केकी कारणले तिनको नाम रुरुकन्या रहन गयो।

    पछी उनले भगवान नारायणको कठोर तपस्या गर्न थालिन। उनको कठोर तपस्या देखी भगवान नारायण प्रशन्न हुनुभयो र उनको सामु प्रकट भई बारदान माग्न भन्नुभयो। भगवानको यस्तो वाक्य सुनेर रुरुकन्याले बिन्ती गरिन “हे नाथ यदी मलाई बरदान दिनुहुन्छ भने यही चतुरवाहु श्री नारायणको रूपले हजुर यही बिराजमान होइबक्सीयोस् र मेरो नामबाट यो क्षेत्र प्रशिद्ध होस्।” उनको यस्तो प्रार्थना सुनी भगवानले भन्नु भयो “अब उपरान्त यो ठाउँ रुरुक्षेत्र नामले प्रख्यात हुने छ”।

    “यो क्षेत्रमा जसले स्नान गरेर चतुरबाहु ऋषिकेशको दर्शन गर्छन् त्यसले मुक्ति पाउनेछ” भनी भगवान अन्तरध्यान हुनुभयो।

    भगवानको आशिर्बादले गर्दा त्यो दिन देखी रुरु क्षेत्र पुण्य क्षेत्र बन्यो। यो क्षेत्र अत्यन्तै पवित्र भयो र रुरु कन्याको नामले रुरुक्षेत्र भनी हिन्दू जगतमा प्रशिद्ध भयो। पश्चिमनेपालको तानसेन बजारदेखि उत्तर-पश्चिममा गुल्मी र पाल्पाको सिमान बाट बग्ने पवित्र कालीगण्डकी र गण्डकीको तिरमा अवस्थित ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण स्थल यस क्षेत्रमा मणिमुकुन्द सेन द्वारा प्रतिस्थापित ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण ऋषिकेश मन्दिर रहेको छ। रिडी, यस क्षेत्रको प्रमुख बजार हो ।

    माथि देखाएका मन्दिरहरुका तस्बिर रुरु नेटवर्कको वेबसाईटबाट लिइएको हो ।

    त्यस्तै,

    * रामनाम स्तुपा

    * रुरुकन्या मन्दिर(ऋषिकेश परिसर)

    * राधा कृष्ण मन्दिर

    * शान्तभक्तेश्वर, शेरभक्तेश्वर, शान्तमुक्तेश्वर

    * कालिका मन्दिर

    * बिष्णु मन्दिर

    * कञ्चनेश्वर महादेव

    * भिर्गुतुङ्गेश्वर महादेव

    * राम मन्दिर

    * भगवती मन्दिर (रातामाटा)

    * औरर्वाश्रम शिद्ध मन्दिर (अर्गली)

    * कालिका मन्दिर (भटकुवा)

    लगायत ४० भन्दा बढी मन्दिरहरु रहेका छन् ।

    Post a Comment

    0 Comments